आर्थिक क्षेत्रका सूचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल

स्पोर्टस न्युज

 - २०७७ माघ ७, बुधबार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरु सकारात्मक रहेको बताएका छन् ।

बुधबार कृषि विकास बैङ्क लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रका सूचकहरु सकारात्मक रहेको बताए । कोभिड १९ का कारणले राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकूलता रहे पनि अन्य क्षेत्रमा आर्थिक सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ ।

उनले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशील, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको बताए । मन्त्री पौडेलले नेपाल कोभिडविरुद्ध सही नीति, सही योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्धको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निःशुल्क उपलब्ध गराउने जानकारी दिए । पहिले फ्रन्टलाइनबाट सुरु गरेर क्रमशः आम नागरिकमा पुर्‍याउने उनको भनाइ छ ।

मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने कुरा संविधानले प्रबन्ध गरेको व्यवस्था भएको भन्दै उनले संविधानको कार्यान्वयनले मुलुकलाई गतिशील ढङ्गले अघि बढाउन मद्दत गर्ने बताए । मुलुकलाई संविधानले परिलक्षित गरेको दिशामा लैजानका निम्ति निर्वाचनको अपरिहार्यता रहेको पनि उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको र बित्तीय क्षेत्रलाई यसले विशेष रुपले समेट्ने भएकोले बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैङ्क अघि बढेको बताए । यसबाट सुशासन कायम हुने अपेक्षा गरिएको उनको भनाइ छ । कृषिमा आधुनिकीकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैङ्कले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने उनले बताए ।

कृषि विकास बैङ्क लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैङ्कले आगामी दिनमा उच्च मूल्य प्राप्त हुने फलफूलमा कर्जा बिस्तार गर्ने बताए ।

त्यसैगरी गाईभैँसी फार्ममा पनि लगानी बिस्तार गर्ने योजना रहेको उनको भनाइ छ । बैङ्कले उत्पादन र उत्पादकत्व बढाउनेतर्फ काम गर्ने उनले बताए ।

कृषि विकास बैङ्क लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।