कर्णालीलाई हराउदै ए पी एफ सेमिफाइनलमा

स्पोर्टस न्युज

 - २०७७ माघ १०, शनिबार

विभागीय टोली एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दे एपिएफले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अब एपिएफ र त्रिभुवन आर्मी क्लबबीचको खेलपछि समूह एको विजेता टोलीको टुङ्गो लाग्ने छ । आर्मी यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

एपिएफलाई पराजित गरेको अवस्थामा कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्थ्यो । यद्यपि, जित्ने पर्ने खेलमा पराजय व्यहोरेपछि कर्णाली प्रतियोगिताबाटै बाहिरियो ।

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरको अन्तिम एक बल बाँकी छँदा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल तय गरेको थियो । जवाफी व्याटिङमा आएको कर्णाली ४३.२ ओभरमा एकसय ४७ रनमै समेटिएको थियो ।

एपिएफको जितमा व्याटिङतर्फ सन्दीप जोराले ६० रनको महत्वपूर्ण योगदान दिए । उनले आफ्नो इनिङमा दुई छक्का र पाँच चौका प्रहार गरे । उनीबाहेक अमर रौटेलाले ३१ र सुवास खकुरेलले २३ रनको योगदान दिए ।

कर्णालीका लागि हेमन्त वलीले ५८ रनको योगदान दिए पनि जित सम्भव भएन । अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन । बलिङतर्फ एपिएफका किशोर महतो र बसन्त रेग्मीले तीन–तीन विकेट लिए । कर्णालीका अनुज चुनारा र रविन्द्र शाहीले तीन–तीन विकेट लिए ।