नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ ।
यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह डी मा रहनेछ ।
आर्मीले केही समयअघि मात्र एएफसीको क्लब लाइसेन्स प्राप्त गरेकोले एएफसीको प्रतियोगिता खेल्नको लागि योग्य बनेको हो । गत वर्ष भएको शहीद स्मारक ए डिभिजन लिगमा आर्मी उपविजेता बनेको थियो । मछिन्द्रले उपाधि जितेपनि आर्मी क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेपछि एएफसी कप खेल्ने अवसर पाएको हो ।
प्लेअफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले तीन खेल जित्नुपर्नेछ । जसअनुसार पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।
यो खेल जित्ने टोलीले भारतको बेंगलुरु फुटबल क्लबसंग अप्रिल १४ मा खेल्नेछ । यो खेलको विजेताले अर्को समूहबाट आउने टोलीसंग प्लेअफ फाइनल खेल्नेछ ।
प्लेअफको अर्को समूहमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र यसको विजेता प्लेअफ फाइनलमा पुग्नेछ ।
प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ । खेल हुने स्थान भने टुङ्गो लागेको छैन ।
यो प्लेअफ जित्ने टिमसंगै समूह डी मा दक्षिण एसियाकै क्लब हुनेछन् । समूह डीमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन् ।
एएफसी कप २०२१ को समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ ।