नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘बी’ को सेमिफाइनलमा प्रवेश गरेको छ। सोमाबर भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
नेपालले समूह चरणका तीन म्याच जित्यो। नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ३९ रन तथा शनिबार भएको दोस्रो खेलमा फिलिपिन्समाथि १३६ रनको जित निकालेको थियो।
तेस्रो तथा अन्तिम खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले नटआउट २७, आसिफ शेखले १७ रन बनाउँदा कुशल मल्ल शून्य रनमा आउट भए।
क्यानडाका सलमान नजिर र कलीम सनाले एक/एक विकेट हात पारे । यसअघि ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रन जोड्यो । क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे ।
रयान पठानले १४ रनको योगदान गरे। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए।
ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। क्यानडा र फिलिपिन्स बाहिरिएको छ। अब नेपालले मंगलबार सेमिफाइनलमा यूएईको सामना गर्नेछ। यूएईलाई हराए अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन्।