हप्किदोको चौथो राष्ट्रिय च्याम्पियनसिपमा लुम्बिनी बन्यो टिम च्याम्पियन

स्पोर्टस न्युज

 - २०७८ बैशाख ७, मंगलवार

गत बैशाख ४ गते सनिवारदेखि सुरु भएको चौथो हप्किदो मार्सल आर्ट राष्ट्रिय च्याम्पियनसिप आज सकिएको छ। सो कार्यक्रमको टिम च्याम्पियनसिपको उपाधी लुम्बिनी प्रदेशले हात पारेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पार्दै प्रथम टिम च्याम्पियनको उपाधी प्राप्त गर्यो । बागमतीले ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक हात पार्दै दोस्रो टिम च्याम्पियन र ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भएको छ ।

उत्कृष्ट खेलाडीमा पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालिसा मल्ल पर्न सफल भएका छन । बुद्ध राई उत्कृष्ट रेफ्रि घोषित भइन् । दुई नम्बर प्रदेशकी विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक चयन भइन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रि प्रत्येकले ५ हजार रुपैयाँ पुरस्कार पाएका छन ।

नेपाली नयाँ वर्ष २०७८को पावन अवसरमा नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको आयोजनामा भएको चार दिने प्रतियोगितामा सात प्रदेशका ७ सयभन्दा बढी खेलाडीको उपस्थिति रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिइन् ।

समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि खानेपानी मन्त्री मणिचन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष नैनाकला थापा, नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारामाया थापाले पुरस्कार प्रदान गरे ।