फाइनलमा उत्कृष्ट प्रदर्शन गर्छौ र उपाधि आफ्नो पक्षमा बनाउछौँ कप्तान लामिछाने

स्पोर्टस न्युज

 - २०७८ चैत्र २०, आईतवार

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध खेल्दै छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । खेल अघि आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान तथा खेलाडीको रूपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको बताए ।

सिरिज जिताएर सबै समर्थकहरूलाई खुसी बनाउने उनले बताए । फाइनल खेलमा कुनै पनि दबाब नभएको भन्दै उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने दाबी गरे । बलर कमल सिंह ऐरीको स्वास्थ्य अवस्था छिटै ठिक भएर टिममा फर्कने उनको विश्वास थियो ।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पछिल्लो समय नेपाली क्रिकेट धेरै राम्रो भएको र आगामी दिनमा उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा पीएनजीका कप्तानले केही दबाब भएपनि आफूहरू सिरिजको उपाधि जित्नका लागि ध्यान केन्द्रित गर्ने बताए ।

भर्खरै प्रकाशित