उपाधिको लागि पीएनजीसँग खेल्दै नेपाल

स्पोर्टस न्युज

 - २०७८ चैत्र २१, सोमबार

नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।

खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।

नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च लयमा छ । पीएनजीले भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै नेपालसँग फाइनल भिडन्त पक्का गरेको हो ।

गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि पनि नेपालले जितेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पीएनजीसँग हुने आजको फाइनलमा दबाब रहित प्रदर्शन गर्ने बताएका छन् । फाइनल खेलअघि आइतबार आयोजित ट्रफी सार्वजनिक र पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले यसअघिका खेलमा जस्तै अपराजित रहेर उपाधि जित्न तयार रहेको बताए ।

‘हाम्रो ब्याटिङ सुध्रिएको अवस्था छ । बलिङ र फिल्डिङमा पनि राम्रो गर्नेछौँ । फाइनल भनेर हामी दवाव लिनेछैनौँ । अघिल्ला खेलमा जस्तो खेल्यौँ, फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिनेछौँ,’ सन्दीपले भने । सन्दीपले मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलसिंह ऐरीको अभाव टोलीमा खड्कने पनि बताए । घाँटीमुनि बायाँ भागको ‘ब्यूटी बोन’ भाँचिएका ऐरीको आइतबार नै शल्यक्रिया सफल भएको छ ।

भर्खरै प्रकाशित