कप्तान किरण बने रुष्ट अलमुताइरी व्यवहार देखि , समाजिक सञ्जाल मै यस्तो भने !

स्पोर्टस न्युज

 - २०७९ बैशाख १५, बिहीबार

काठमाडौं – देश बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले खेलाडीप्रति मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले गरेको व्यवहारप्रति असन्तुष्टी जनाएका छन् ।

किरणले बुधबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन ।टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।’ किरण माल्दिभ्सको क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।

 

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए । किरण्को अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न बताएपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए ।

 

इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए । उनले टोलीको तयारीबारे सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षण पश्चात अलमुताइरीसँग छलफल गरेका थिए । प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक संजालमा हालेको भिडियोमा पनि रोहित छैनन् ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत खेलाडी बुधबार टोलीसँग थिएनन् । एन्फा नेतृत्वलाई खेलाडीले यसबारे जानकारी दिएको बताइएको छ । खेलाडीले प्रशिक्षण छाडेको विषयमा एन्फाले अहिले सम्म आधिकारिक जानकारी दिएको छैन । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यसबारे प्रशिक्षकसँग छलफल गर्ने बुझिएको छ । यसअघि पटक पटक विवादमा तानिएका अलमुताइरी र खेलाडीबीच नै विवाद सार्वजनिक भएको भने यो पहिलो घटना हो ।

 

 

भर्खरै प्रकाशित