गण्डकीका सांसद थापा पुनः पद मुक्त

स्पोर्टस न्युज

 - २०७८ जेष्ठ २८, शुक्रबार

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी गराउनु भयो।

विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बस्नु भयो ।

जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । र, प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी रहेको अनलाईन खबरले लेखेको छ ।

जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत जानु भएको थियो । ।

थापाको रिटमा २३ जेठमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो । एउटा खास कामका लागि जारी भएको हृवीप, सो खास कार्य हुन नसकी परिस्थिति परिर्वतन भएको स्थितिमा भएको कामबाट राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिन सक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको अन्तरिम आदेशमा उल्लेख थियो।