२२ किमि बगेर बाँचेको सिन्धुपाल्चोकको भैसीँको कथा

स्पोर्टस न्युज

 - २०७८ असार ८, मंगलवार

असार २ गते दिउँसो सिन्धुपाल्चोकको चनौटेमा मेलम्ची बाढीमा बगिरहेको एउटा भैँसी देखियो । तर खोलाको बाढीमा बग्दै गरेको भैँसीलाई उद्धार गर्न कोही जान सक्ने अवस्था थिएन ।

स्थानीय रवि खड्काले खिचेको भिडियोमा स्थानीयहरुको आवाज सुनिन्छ, ‘भैँसी जिउँदै रहेछ । अब त्यहाँबाट पनि लैजान्छ । रगत निस्किएको रहेछ । बरु त्यसरी बस्नुभन्दा जाओस् । स्वर्गमा बास होस् ।’ हेर्दा हेर्दै ढुङ्गाहरू सँगै भैँसीलाई पनि बाढीले गुल्टाएर बगाउँछ ।

सिन्धुपाल्चोकको चनौंटे क्षेत्रमा भिडियोमा कैद भएको भैँसी हेलम्बु गाउँपालिका वडा नं. २ किउल भन्ने ठाउँबाट बगेको थियो । किउलबाट चनौटे, ग्याल्थुम, तालामाराङ्, मेलम्ची, बाहुनेपाटी, हुँदै काभ्रेको सीमा छेउ फड्केश्वरमा पुगेको थियो ।इन्द्रवती नदीले बगाउँदै ल्याएको भँैसी सोहीदिन साँझतिर १६ वर्षका रोमन कार्की र १८ वर्षका धनबहादुर तामाङले काभ्रेपलाञ्चोकको सिमाछेउ उद्धार गरे ।

असार १ गते मेलम्ची खोलामा रातभरी बाढी आयो । हेलम्बु गाउँपालिका वडा नं. ६ किउल, ओडारेका तारा शिवभक्तिको घर गोठ बाढीको भंगालोमा प¥यो । दिउँसो स्थानीयले भैँसीको उद्धार गर्न खोजे तर सकेनन् । असार २ गते दिउँसो ३ बजेतिर बाढीले २ वटा भैँसी बगायो ।

मेलम्ची नगरपालिकाको पशु शाखामा कार्यरत भेटनरी प्राविधिक चेतप्रसाद घोरासैनीले पनि मेलम्चीमा भैँसी जिउदै बगिरहेको देखे । उनी मेलम्ची भन्दा माथिको गाउँमा भैँसी बिरामी भएकोले उपचारका लागि गएका थिए । उनी आफ्नो घर फड्केश्वर आइपुग्दा फड्केश्वरमा रोमन कार्की र धनबहादुर तामाङले उद्धार गरिसकेका थिए

भैँसीको उद्धार गर्नेहरुले पशु प्राविधिक घोरासैनीलाई फोन गरेर भैँसीको रगत बगिरहेको छ, खुट्टा सुन्निएको छ, घाउ नै घाउ छ भन्दै उपचारका लागि बोलाए ।घोरासैनीले भैँसीको घाउ सफा गरेर एन्टिबायोटिक औषधी दिए । खोलाबाट झन्डै १० मिनेट हिँडाएर एउटो गोठमा भैँसी राखियो ।

घोरासैनीले भने, ‘४ दिनमा भैँसीको निकै सुधार भएको छ । घाँस पानी खोले मज्जाले खान्छ । हेलम्बु गाँउपालिकामा बस्ने साथीसँग कुरा गरे । भैँसी धनीसँग सम्पर्क भयो । अहिले त बिरामी जस्तै देखिएको छैन । भोलिसम्म दिँदा ठीक हुन्छ कि ।’

भैँसीको मुखको तल्लो भागमा ठूलो घाउ लागेको छ । शरीरका विभिन्न भागमा चोट लागेको छ । पहिलो दिन भैँसीको ज्वरो १ सय ४ पुगेपनि अहिले घट्दै गएको घोरासैनीले बताए ।

उनले भने–‘मैले साउनमा ब्याउने होला भन्ने सोचेको थिँए यही असार ९ गते भैँसीको दिन पुग्ने रहेछ । भैँसीको स्वास्थ्यस्थित राम्रो छ । मैले एन्टिबायोटिकहरु चलाएको छु । मेरो बिचारमा भैँसी राम्रोसँग ब्याउँछ ।’

भैँसी भेट्न ५ घण्टा पैदल यात्रापशु प्राविधिक चेतप्रसाद घोरासैनीका अनुसार भैँसी भेटिएको ठाउँबाट बगाएको ठाउँ झन्डै २२ किलोमिटर टाढा छ । उनले हेलम्बुमा रहेका साथीहरुको सम्पर्कबाट भैँसी धनीसम्म सम्पर्क गरे । फोनमा भैँसी धनीले सिङ लामा लामा भएको र भैँसी ब्याउने बेलाको छ भनेपछि घोरासैनीले उनीहरुलाई बोलाए ।

उनले भने–‘भैँसी ब्याउने छ । दाम्लो नथीसहित छ हैन सर भनेर भन्नुभयो । उहाँहरु यहाँ आएपछि भैँसीले पनि चिनिहाल्यो । जो कोही मान्छेले मेरो भैँसी हो भनेर आउने हो कि भन्ने डर थियो तर भैँसीले नै उहाँलाई चिनेपछि डर भएन ।’अरु मान्छेसँग डराइरहेको भैँसी आफ्नो धनीलाई भेटेपछि शान्त बनेको थियो । पशु प्राविधिक घोरासैनीले ४५ सय रुपैयाँ हाराहारीको व्यक्तिगत औषधी उपचारमा प्रयोग भएको र आफूले निःशुल्क उपचार गरिदिएको रातोपाटीलाई बताए ।