एजेन्सी । चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताएका छन् ।
अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण आज आइतवारदेखि सुरु भएका बेला चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि चीनले अमेरिकी विदेश अर्थ मन्त्री विल्बर रोससहित केही अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
चीनका विदेश मन्त्री वाङ्ग यीले दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको चेङ्गदुको आयोजित चीन–पाकिस्तानका विदेश मन्त्रीको तेस्रो चरणको रणनीतिक वार्ताका क्रममा यस्तो बताएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले उप विदेश मन्त्री वेन्डी शर्मनको चीन भ्रमणलाई आफ्नो सहयोगीको सल्लाहपछि लिइएको निर्णय बताउनुभएको जवाफमा चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो । अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको थियो, ‘यो बैठक दुई देशको सम्बन्धलाई जिम्मेवारीसँग सम्हाल्ने र चिनियाँ अधिकारीसँग स्पष्ट कुराकानी गर्ने कोसिसको हिस्सा हो ।’
अमेरिकाले सधैँ अरूमाथि आफ्नो शक्ति (जसलाई ऊ आफैँ दाबी गर्छ) बाट ‘कृपा’ को रूपमा दबाब बनाउने गरेको वाङ्ग यीले आरोप लगाएका छन् । वाङ्गले भने, ‘यस्तो कुनै देश छैन जो अरूभन्दा ठूलो होस् र यस्तो हुनु पनि हुँदैन । म अमेरिकी पक्षलाई यो कुरा भन्न चाहन्छु ।’
चीनले यस्तो सोच राख्ने देशलाई कहिल्यै स्वीकार नगर्नेमा पनि विदेश मन्त्री वाङ्ग यीले जोड दिएका छन् । यदि अमेरिकाले अन्य देशसँग समान व्यवहार गर्नुपर्छ भन्ने नसिके उसलाई यो सिकाउने जिम्मा चीनको भएको र त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिने उनले बताए ।