किरणले पाए द भ्वाइस अफ नेपाल सिजन ३ उपाधी

स्पोर्टस न्युज

 - २०७८ श्रावण २४, आईतवार

काठमाडौं / अमेरिकामा बस्दै आएका किरण गजमेर द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल भएका छन् । हिमालय टेलिभिजनमा शुक्रबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर बिजेता भएका हुन् ।

गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । द भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा उपाधिको छिनोफानो भएको हो । फाइनलमा चारै जना प्रतिभा सहित टप १२ र सिजन २ का बिजेताले समेत आफ्ना प्रस्तुति राखेका थिए ।

द भ्वाइस अफ नेपाल सिजन ३ का विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाएका छन् ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

भर्खरै प्रकाशित