विद्यार्थीले प्रवेश पत्र देखाएर कोरोना भाईरस बिरुद्धको खोप लगाउन पाउने

स्पोर्टस न्युज

 - २०७८ श्रावण २८, बिहीबार

काठमाडौं/ सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको बताए ।

‘खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो हुन्छ ।’

प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयमा जुन खोप उपलब्ध छ त्यही खोप विद्यार्थीहरूलाई लगाइने उनले बताए ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले पनि विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था गरिएको बताए ।

कोरोना संक्रमण वृद्धि भइरहेका बेला त्रिविलगायत विश्वविद्यालय तथा विद्यालयहरूले विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन् । कक्षा ११ को परीक्षा पनि भइरहेको छ ।

परीक्षा केन्द्रमा सामाजिक दूरी कायम नभएको, स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको भन्दै आलोचना भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।

मंगलबार काठमाडौंको पद्मकन्या क्याम्पसमा स्नातक तहका विद्यार्थीले प्रदर्शन गरेका थिए, तीमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समाजशास्त्र संकाय स्नातकोत्तर तहका विद्यार्थीले पाटन बहुमुखी क्याम्पसमा पनि कोरोनाविरूद्ध खोपपछि मात्रै परीक्षा लिन प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै प्रदर्शन गरेका छन् ।

परीक्षा केन्द्रबाटै कोरोना सर्न सक्ने जोखिम रहेको बताउँदै विद्यार्थीले विरोध गरेपछि सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनका नेताहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराउँदै तत्काल खोप लगाउन माग गरेका थिए ।

साथै नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारबाट विद्यार्थीको माग सम्बोधन गर्नु सकारात्मक भएको बताए । ‘त्रिविलगायत सबै विद्यार्थीलाई कोरोना खोप दिनुपर्छ,’ भट्टराईले भने, ‘विद्यार्थी र शिक्षाबारे सरकार संवेदनशील हुनुपर्छ। विद्यार्थीलाई खोप लगाएर परीक्षाको व्यवस्था गर्नु राम्रो हुन्छ, यसले जोखिम पनि घटाउँछ।’

भर्खरै प्रकाशित