निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७ स्वीकृत

स्पोर्टस न्युज

 - २०७७ माघ २, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७ स्वीकृत गरेको छ ।

विगतका निर्वाचनबाट प्राप्त सिकाई तथा उपलब्धि र आयोगको पञ्चवर्षीय रणनीतिक योजना अनुरूप निर्वाचन पूर्व र निर्वाचन पछिको चरणमा नियमित रूपमा कार्य गर्ने तथा निर्वाचन अवधिमा सघन रूपमा निर्वाचनको कार्य सम्पन्न गर्नका लागि परिचालित हुने जनशक्तिको विकास र परिचालनका लागि नीति कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विश्वसनीय निर्वाचनका लागि व्यवसायिक तथा सक्षम जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यका साथ नीति कार्यान्वयनमा ल्याइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न गुणस्तरीय तथा व्यवसायिक मानव संसाधनको विकास गरी जनशक्ति परिचालन गर्नु नीतिको लक्ष्य रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुने कर्मचारीको व्यवस्थापनका लागि आवश्यकता अनुसार नीतिगत तथा कानूनी सुधार गरी आवश्यक दक्ष जनशक्ति तयार गर्ने, निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा परिचालन गरिने कर्मचारीको क्षमता विकासको लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने लगायतका विषयहरु मानव संसाधन नीतिमा समावेश गरिएको छ ।