बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टारद्वय नेयमार र किलियन एम्बाप्पेलाई अनुबन्ध गर्ने इच्छा जाहेर गरेका छन् । लियोलन मेस्सी भित्र्याउने बताएका पिएसजीका खेल निर्देशक लियोनार्दोलाई कटाक्ष गर्दै आफ्नो पनि नेयमार र एम्बाप्पे अनुबन्ध गर्ने इच्छा रहेको कोइम्यानले बताएका हुन् ।
केही दिनअघि लियोनार्दोले मेस्सीजस्ता महान् खेलाडीलाई पिएसजीमा स्वागत छ भन्दै अर्जेन्टिनी स्टार अनुबन्ध गर्ने इच्छा प्रकट गरेका थिए । लियोनार्दोको अभिव्यक्तिलाई टिप्पणी गर्दै कोइम्यानले नेयमार र एम्बाप्पे दुवैलाई अनुबन्ध गर्ने आफ्नो इच्छा रहेको सुनाए ।
‘यदि, मलाई नेयमार र एम्बाप्पे अनुबन्ध गर्ने तपाईंको इच्छा छ ? भनेर सोधियो भने म स्वीकार्छु’, बुधबार पत्रकार सम्मेलनका क्रममा कोइम्यानले भने ।
लियोनार्दोले अर्जेन्टिनी स्टार मेस्सी भित्र्याउने प्रयास जारी राखेको पनि बताएका थिए । ‘मेस्सीजस्ता महान् खेलाडीहरू सधैं पिएसजीको योजनामा रहन्छन् । मेस्सी हाम्रो सूचीमै छन् । तर, यो समय यसबारे कुरा गर्ने समय होइन, यसबारे सपना देख्ने पनि होइन । तथापि, हामीसँग निकट खेलाडीको विषयमा हामी छलफलमा छौं । अहिलेसम्म हामी छलफलका लागि बसेका छैनौं तर अब बस्नेक्रममा छौं,’ उनले भने ।
सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिन मात्र पाँच महिना बाँकी छ । पछिल्लो समय उनी बार्सिलोनामा खुसी पनि देखिएका छन् । राम्रो लयमा फर्किएको अनुभव गरेका उनलाई हाल क्याप नोउमा खुसी मुद्रामा देख्न सकिन्छ ।
तर, अघिल्लो समरमा बार्सिलोना छोड्न जोड गरेका उनी अब यो वर्षदेखि क्लब छोड्न स्वतन्त्र छन् । मेस्सी अनुबन्ध गर्न युरोपका शीर्ष क्लबहरू लागिपरेका छन् । मेस्सी र बार्सिलोनाबीच सम्झौता नवीकरणको तालमेल नमिलेका बेला इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र पिएसजीले उनीमाथि इच्छा देखाइरहेको बताइन्छ ।
पिएसजी हाल मेस्सी अनुबन्ध गर्दै नेयमारसँग उनको पुनर्मिलन गराउने सोचमा छ । त्यसबाहेक मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ मैदान उतारेर च्याम्पियन्स लिग जित्ने दाउमा छ ।