अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको महिला राष्ट्रिय लिगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
कोरोना महामारीका कारण झण्डै एक वर्ष पछि मैदान फर्कन पाउँदा खेलाडीहरु जित हातर गोल भन्दा पनि खेल्न पाएकोमा खुशी देखिन्थे ।
पहिलो पटक डबल लिगको अवधारणामा सञ्चालन गरिएको लिगमा तीन विभागीय टोलीका साथै छनोटबाट उत्कृष्ट भएका चार नगरपालिका/ महानगरपालिकाका टिम गरी ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
एन्फाले यस पटक लिगलाई प्रतिस्पर्धात्मक बनाउन विदेशी खेलाडी राख्ने प्रावधानसमेत लागु गरेको छ । जसअनुसार विभागीय बाहेक अन्य चार टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । साथै एकै पटक चारै जना खेल्नसमेत पाउनेछन् ।
स्याङ्जाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले ४ जना खेलाडी खेलाडी राखे ।
प्रतियोगिता अन्तर्गतका खेलहरु अहिले एक पक्षीय देखिएका छन्, जसमा विभागीय क्लब हावी भएका छन् ।
एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० ले हरायो । यस्तै तेस्रो दिन नेपाल पुलिस क्लबले पनि उदयपुरको चौदण्डगढी नगरपालिकालाई ६-० ले नै हरायो ।
सोमबार एन्फा कम्प्लेक्समा भएको दुई खेलमा गरेर कूल १४ गोल भयो । जसमा आर्मी र एपीएफले समान ७ गोल गरे ।
पहिलो खेलमा आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई र दोस्रो खेलमा एपीएफले विराटनगरलाई पराजित गरे ।
वालिङमा अफ्रिकन राष्ट्र क्यामरुनका चार विदेशी खेलाडी अनुबन्धित छन् । ३ विदेशी खेलाडी आर्मीविरुद्ध खेलेका थिए । तर वालिङले गोल भने गर्न सकेन ।
एपीएफलाई लगातार दोस्रो जित दिलाउन सावित्रा भण्डारी साम्बाले दुई खेलमा ह्याट्रिक गरिसकिन् । उनले विराटनगर विरुद्ध त चार गोल नै गरिन् ।
विभागीय टोलीहरु उपाधि दाबेदारका रुपमा अगाडि छन् । विभागका खेलाडीहरु सँगै प्रशिक्षण गर्ने र राष्ट्रिय टिममा पनि सँगै खेलिसकेको अनुभव छ । तर नगरपालिकाको टिममा भने स्थानीय खेलाडीहरु छन् र विदेशी खेलाडीहरु पनि टिममा सेट भइसकेका छैनन् ।
सोमबार आर्मी र एपीएफले विपक्षीलाई फराकिलो अन्तरले हराउदै सम्भव भएको ३ अंक जोड्यो । तर प्रशिक्षकहरु भने अझै पूर्ण रुपमा सन्तुष्ट हुन सकिरहेका छैनन् र धेरै गोल हुनुपर्ने धारणा राखिरहेका छन् ।
आर्मीका प्रशिक्षक राजु तामाङले पहिलो खेलमा बराबरी खेलेपछि दोस्रो खेलमा धेरै गोल गर्नतिर लागेको र त्यसकै प्रभाव देखिएको बताए । ‘हामीले स्कोरिङमा ध्यान दिएका थियौँ र सुरुमै गोल गर्यो । दोस्रो हाफमा पनि गोल थप्न सफल भयौँ’ उनले भने ।
यस्तै एपीएफका प्रशिक्षक जनकसिंह थारुले विपक्षीले रक्षात्मक खेल्दा गोल अझ कम भएको बताए । ‘हामी धेरै गोल गर्न चाहन्थ्यो । तर दोस्रो हाफमा उनीहरुले अझै डिफेन्सिभ भएर खेले’ थारुले भने, ‘हाम्रो कडा प्रतिस्पर्धा विभागीय टोलीहरुसंग हुनेछ र हामी त्यसको लागि तयार हुँदैछौँ ।’
थारुले अब आर्मी विरुद्धको खेलमा सुधार गरेर खेल्ने बताए । ‘आर्मीसंगको खेल ५०-५० हो । हामीले जितिरहेको छौँ । पछिल्लो समय धनकुटामा ट्राइबेकरमा हारेका थियौँ’ उनले भने ।
यस्तै विराटनगर विरुद्ध एक गोल गर्नुका साथै वुमन अफ दि म्याच घोषित भएकी एपीएफकी सरु लिम्बुले पनि खेलमा अझै सुधार गर्नुपर्ने बताइन् । ‘खेल राम्रो भयो । तर हामीलाई अझ जिम्मेवारी थपिएको छ । आर्मी पुलिसहरुसंग खेल्न बाँकी छ । हामीले अझै राम्रो खेल्न सकेका छैनौँ । आगामी खेलहरुमा अझ राम्रो खेल्छौँ र धेरै गोल गर्छौं’ उनले भनिन् ।
नगरपालिका टिमका प्रशिक्षकहरु भने विभागसंग खेल्न गाह्रो हुने बताउँछन् ।
वालिङका प्रशिक्षक दिलिप थापाले खेलाडीबीच तालमेल मिल्न नसकेको बताए । ‘विदेशी र यहाँका खेलाडीबीच राम्रो तालमेल मिल्न सकेन’ थापाले भने, ‘आशा छ आउने खेलहरुमा हामी सुधारिएको प्रदर्शन गर्न सक्छौं ।’
विराटनगरका प्रशिक्षक पारस चौधरीले एपीएफ बलियो टोली रहेको र स्टार खेलाडीहरु रहेकोले आफ्नो योजना कम गोल खाने भएको बताए । ‘हामीले ४ गोल भन्दा बढी नखाने रणनीति बनाएका थियौँ । तर योजना अनुसार खेल भएन’ चौधरीले भने, ‘विभागसंग कम गोल खाने र अन्य टिमसंग कडा प्रतिस्पर्धा गर्ने हाम्रो रणनीति हो ।’
चौधरीले भारतबाट ल्याएका चार खेलाडीमध्ये दुई जनाले मात्र राम्रो खेलेको बताए ।