२५ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अञ्जान विष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक गोल रह्यो । निकै तनाव ग्रस्त बनेको खेलमा दुवै टोलीले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो ।
खेलको ३६औँ मिनेटमा कप्तान अञ्जानले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । खेलको ६३औँ मिनेटमा सब्सिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारे ।
ललितपुरले दोस्रो गोल गरेपछि खेल तनाव ग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडी मैदानबाट बाहिरिएका थिए । तर, केही समयपछि खेलाडी मैदान फर्किएका थिए ।
त्यसपछि खेलको ८१औँ मिनेटमा अञ्जानले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता बनाए ।
खेलको ८५औँ मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । रञ्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए ।
दुई गोल गरेका ललितपुरका कप्तान अन्जन प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद २५ हजार पाए । यस्तै ललितपुरकै डोना थापाले इमर्जिङ प्लेयर बन्दै १० हजार प्राप्त गरे ।
जितपछि लिगमा ६ खेलबाट ९ अंक जोडेको ललितपुर तेस्रो स्थानमा उक्लिएको छ र शीर्ष चारमा स्थान पक्का गरेको छ । ललितपुरले अब एलिमिनेटर खेल्नेछ । यसअघि नै धनगढी एफसी र काठमाडौं रेजर्स एफसी प्लेअफ पुगिसकेका छन् ।
तालिकाको पाँचौ स्थानमा रहेको विराटनगर प्लेअफ पुग्न असफल भएको छ । चितवनपछि लिगबाट बाहिरिने विराटनगर अर्को टिम बनेको छ ।