बागलुङ १८ जेठ । बागलुङको निसीखोलामा सञ्चालित पाँचौ राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि आयोजक बागलुङले हात पारेको छ। बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा निसीखोला गाउँपालिका-२ जुग्जाखोलामा आयोजित प्रतियोगितामा १५ स्वर्ण पदक जित्दै बागलुङ टिम च्याम्पियन बनेको हो ।

यहि जेठ १६ र १७ गतेसम्म सञ्चालित प्रतियोगितामा ८ स्वर्णसहित रुपन्देही फस्ट रनर अप (द्वितीय) र ६ स्वर्ण सुरक्षित गर्दै नवलपुर सेकेन्ड रनर अप (तृतीय) बन्न सफल भएका छन्। विभिन्न जिल्लाका २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा कलर बेल्ट र ब्लाक बेल्ट विधा अन्तर्गत स्पाईरिङ तथा प्याट्रन प्रतिस्पर्धा गराइएको थियो। प्रोफेसनल खेलमा रेडस्टार र अस्मितालाई स्वर्ण पुरुष र महिला दुवैतर्फको ४६–५० केजी तौल समूहमा आयोजित प्रोफेसनल स्पाईरिङ प्रतिस्पर्धा निकै रोमान्चक बनेको थियो। पुरुष तर्फ बागलुङका रेडस्टार पुन मगर प्रथम हुँदै नगद रु. २०,०००/- प्राप्त गरे। यस्तै नवलपुरका रोहन यादव द्वितीय हुँदै रु. १२,०००/- र बागलुङका सुर्जन वि.क. तृतीय स्थान हासिल गर्दै रु. ६,०००/- नगद पुरस्कार जित्न सफल भए। महिला तर्फ रुपन्देहीकी अस्मिता छिनालले प्रथम स्थान हासिल गर्दै नगद रु. २०,०००/- हात पारिन्। बागलुङकी आरोही घर्ती मगर द्वितीय बन्दै रु. १२,०००/- र बागलुङकै समिका घर्ती मगर तृतीय स्थान सहित नगद रु. ६,०००/- प्राप्त गरे।

प्रतियोगितामा महिला तर्फ नवलपुरकी रोजी गुरुङ र पुरुष तर्फ भक्तपुरका आर्यन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। यसैगरी, नवलपुरका राजु आले बेस्ट रेफ्री र बागलुङका लक्षु वि.क. बेस्ट कोच चयन भएका छन्। खेलको माध्यमबाट क्षेत्रीय सामीप्यता बढाउन, निसीखोलालाई खेल पर्यटनसँग जोड्न तथा कुशल एवं अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलाडीहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्दै भविष्यमा देशको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउने लक्ष्य समेत राखेको छ। बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघका अध्यक्ष जीवन रसाईलीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्ती मगरले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीहरू खेलका साथै अन्य सामाजिक क्रियाकलापमा समेत सक्रिय भई राज्य निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्ती मगर, वडा नम्बर २ का अध्यक्ष कुबिर वि.क., र नेपाल चानहुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष कुल बहादुर बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो। रुना रसाईलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन अनुप बुढा मगरले गरेका थिए।